मेरो बुझाई

-काठमाण्डौँ, ७ मे २०२० (२५ बैसाख २०७७)

   

लेख्दै गरेको कथालाई थाति राखेर म आज यो मेरो सानो सोचलाई शब्दहरुमा ढाल्न जाँदैछु । मलाई लाग्यो त्यस कथा भन्दा मेरा लागी यस लेख बढि महत्व राख्दछ । हिजो राति सुत्ने बेलामा मदनबहादुर हरिबहादुर भन्ने मह जोडिको एक बहुचर्चित टेलि श्रृंखला युट्युब मार्फत हेर्दै थियौँ, पहिलो संस्करणको पहिलो भागमा देखाइएको थियो २०५४ साल तिरको नेपालको स्थिति । माओवादी भनिनेहरु बन्दुक बोकेर हरिबहादुरको घरमा जबरजस्ति ढङ्गले प्रवेश गर्छन् ।  सानैदेखि सुनेको थिएँ माओवादीको आन्दलोनको बारेमा, घरमा बाबा-आमाले भनेको सुन्दै नै आएको हुँ - देशमा के के न गर्छु भनेर आएका, केहि गर्न सकेनन्, सोझासाझा जनताको फाइदा मात्र उठाए, धिक्कार छ । यस्तो वातावरणमा हुर्किएको हुनाले मलाई देशको राजनीतिक ईतिहासको बारेमा हल्काफुल्का ज्ञान त थियो नै तर माओवादीको मात्र कुरा आउँदैन नेपाली राजनीतिक ईतिहासको कुरा गर्दा । मलाई एकदमै जान्न मन लाग्यो देशको राजनीतिक ईतिहास । युट्युबमा चलिरहेको भिडियोलाई पज गरि म आमातिर फर्किएँ, गहिरो सोचमा परेझैँ उहाँतिर हेर्दै फेरी टिभी तिर हेरेँ, मेरो दिमागमा उब्जिएका प्रश्नहरु घेरै थिए, कुनै तगडा प्रश्न थिए त कुनै नाजुक । ति सबै प्रश्नहरु एक एक गर्दै सोध्न थालेँ । आखिर के हो त ०४६ साल को आन्दोलन? के हो त ०६२/०६३ को आन्दोलन ? किन गरिए ति आन्दोलन ?कसको नेतृत्वमा भएका हुन् ति आन्दोलन? माओवादीले किन देशलाई युद्धको मैदान बनाए त? के चाहान्थे तिनिहरु? राजा किन हटाइयो त? प्रजातन्त्र र लोकतन्त्रको खास परिभाषा के हो? नेपालमा गणतन्त्रको आवश्यकता किन पर्यो ? यी सँगसँगै अनेकौँ प्रश्न मेरो दिमागमा आउन थाले एक एक गर्दै । देशको स्थिति किन यस्तो उराठलाग्दो छ? किन हाम्रो देशका अधिकांश जनतामा देशको राजनीतिको बारेमा चेतना छैन त? किन मतलब छैन मान्छे हरुलाई देशको हालत बारे? मानिसहरु ०४६ सालको आन्दोलन ताका पनि यस्तै चासो नलिने थिए त? चासो नै नभएको भए किन मान्छेहरु त्यसरी आक्रोसित भएर सडकमा उत्रिए? अहिलेको स्थितिमा कतिपय मान्छेहरुलाई त नेपालको राष्ट्रपति को हो र प्रधानमन्त्री को हो, यो सबैको ज्ञान पनि छैन । छिमेकि मुलुक भारतलाई हेर्दा लाग्छ, मानिसलाई तिनको देशको राजनीतिक अवस्थाका बारे किन र कसरी यस्तो चासो छ?



फोटो साभार: narayanionline.com

आमालाई यी प्रश्नहरु सोध्दा भुटुटुटु गोली प्रहार गरेझैँ लाग्यो आफैलाई पनि, अत्यन्त उत्सुक भएर यस्ता प्रश्न सोध्दा आमापनि दङ्ग पर्नुभएको मैले थाहा पाएको थिएँ । अचम्म लागेछ क्यार आमालाई, र लागेछ कि मलाई धेरै इच्छा छ नेपाली राजनीतिको ईतिहास बुझ्ने । त्यसैले मलाई वि.पी. कोइरालाको आत्मबृतान्त पढ्ने सल्लाह दिनुभयो । उनको त्यस आत्मबृतान्तमा मैले खोजेको धेरै प्रश्नका जवाफ भटिन्छन् रे । आफैलाई पनि अचम्म लाग्यो, मैले सोधेका हरेक प्रश्नको जवाफ छ आमासँग । त्यसै त राजनीति गर्छु भनेर हिँड्नुभएको होइन जस्तो लाग्यो । काङ्ग्रेस समर्थक भएर पनि हो, उहाँको प्रायः जसो कुरामा नेपाली काङ्ग्रेसप्रतिको समर्थन झल्किएको थियो । उहाँको झुकाव जो प्रति भएपनि मलाई त्यससँग मतलब थिएन, मलाई मतलब थियो त आफ्नो मनमा आएका प्रश्नहरुको जवाफ पाउनुसँग, जुन मैले एक एक गर्दै प्रस्ट हुने गरी पाएँ । 


मेरा प्रश्न आए लगत्तै आमाले मलाई चित्त बुझ्दो उत्तर दिनुभए पनि मलाई त्यसबारे अझै उत्सुकता बढेको थियो । त्यसैले बिहान उठ्ने बित्तिकै इन्टरनेटमा हिजो हामी बिच भएका कुराहरु बारे अनुसन्धान गर्न थालेँ । आमाले भन्नुभएको थियो, '०४६ साल को आन्दोलन बहुदलीय व्यवस्था फिर्ता लिएर आउनाका लागी भएको थियो' । २०१७ सालमा राजा महेन्द्रले  बहुदलिय व्यवस्था भङ्ग गराई पञ्चायती व्यवस्था भित्राएका थिए रे । तत्कालिन पहिलो जननिर्वाचीत सरकारलाई सत्ताच्युत गर्दै संसद समेत भङ्ग गराएर उनले बहुदलीय व्यवस्था हटाइ पञ्चायती व्यवस्था कायम गरेका थिए रे । सिङ्गो नेपालमा निर्दलिय व्यवस्था लामो समयसम्म कायम भएको रहेछ । चुनाव त हुन्थ्यो तर दलको होइन, व्यक्तिको । रुख, सुर्य, हँसिया-हथोडा जस्ता चुनाब चिन्ह होइनन्, चुनाबमा खडा हुने व्यक्तिको आफ्नै चुनाब चिन्ह हुन्थ्यो रे । नेपाली काङ्ग्रेस र कम्युनिस्ट दुबै आ-आफ्नो ढङ्गले यसका बिरुद्ध लडिरहेका थिए रे । यस पञ्चायती व्यवस्थाले जनतालाई मौलिक हकबाट बञ्चित गराएर राखिरहेको रहेछ । वर्षै पिच्छे यस व्यवस्थाका बिरुद्ध नेपाली काङ्ग्रेस र नेपालका कम्युनिस्टका साथ साथै सबै जनताहरु लडे पनि कहिल्यै सफलता हात नपरेको रहेछ । जनताको आक्रोस थाम्नका लागि राजा बिरेन्द्रले २०३६ सालमा जनमत संग्रह गराएका रहेछन्, निर्दल र बहुदल मध्ये कुन रोज्ने भनेर गराइएको जनमत संग्रहमा निर्दलीय व्यवस्थालाई जिताइएको थियो रे ।
फोटो साभार:shilapatra.com


०४६ सालमा नेपाली काङ्ग्रेसको अधिवेसनसँगै तत्कालिन भारतीय प्रधानमन्त्री चन्द्रशेखरको समर्थनमा नेपाली काङ्ग्रेसले फागुन ७ गते देखी आफ्ना माग पुरा नभइन्जेल सम्मका लागी आन्दोलन सुरु गरेको थियो रे जसमा भारतीय प्रधानमन्त्रीको समर्थन त थियो नै, त्यसबाहेक यस आन्दोलनमा कम्युनिष्टहरु पनि साथ दिन आएका रहेछन् । यसरी सबैतिर बाट आएको दवावलाई न्यून पार्न जति कोसिस गरिए पनि देशैभर चर्किरहेको आन्दोलनले झन् झन् गति लिँदै गएकोले संविधानमा उल्लेख निर्दलीय व्यवस्था अन्त्य गरी राजाबाट बहुदल व्यवस्थालाई पुनः निरन्तरता दिने घोषणा गरिएछ । 
यति हुँदा पनि मैले आफ्ना सबै प्रश्नको उत्तर पाएको थिइन, अझै खोज गरेँ, माओवादी को हुन्? के देखि असन्तुस्ट थिए त? किन जंगल पसेर देशभरी आतंक फैलाउन बाध्य भए उनिहरु? यि प्रश्नहरुको उत्तरको खोज चालु गरेँ । ०४६ सालको बहुदल प्राप्तिपछि ०४८ सालमा आम निर्वाचन भएको रहेछ । नेपाली जनतामा आशा थियो बहुदल पछि सबैले आ-आफ्नो मौलिक हक प्राप्त गर्ने । यसैको बिचमा सारा देशले उत्सव मनाइरहँदा कम्युनिष्ट भित्रबाट एक असन्टुष्ट पक्ष निस्किएका रहेछन् । उनिहरुको माग अझै यसभन्दा माथि रहेछ, नेपालमा राजतन्त्रको अन्त्य र संघीय गणतन्त्रको स्थापना थियो उनिहरुको माग । यस्तो माग लिएर क्रान्ति सुरु गर्ने नै थिए माओवादी । उनिहरुको क्रान्ति सुरु भएको साल थियो २०५२ सालमा । त्यहि वर्ष बाबुराम भट्टराईले प्रधानमन्त्रीलाई ४० बुँदे ज्ञापनपत्र पेश गरेका रहेछन् । उक्त ज्ञापनपत्रलाई सरकारले अस्वीकार गरेको रहेछ र त्यहिँदेखि सुरु भएको रहेछ माओवादी ससस्त्र द्वन्द्व । आफ्नो युद्ध देशको निर्माणका लागी भएको दावी गर्दै माओवादी करिव १२ वर्षका लागी युद्ध गरेपछि बि.सं. २०६३ मंसिर ५ गते माओवादी र तत्कालीन सरकारका बिच बृहत शान्ति सम्झौता भएको रहेछ ।



अब आयो ०६२/०६३ को कुरा - दोस्रो जनआन्दोलन । यस बेला भएको आन्दोलनको कतिपय घटनाहरु त म आफैँलाई पनि याद छ । मलाई लाग्छ नेपालका जनतामा राजनीतिप्रति घृणा बढ्दै गएको बेला थियो यो । यस बेला सम्म माओवादीहरु भुमिगत नै थिए, उनिहरुको युद्ध चलिरहेको नै थियो । २०५८ सालमा राजा बीरेन्द्रको वंश नाश भएपछि देशभर आतंक फैलिएको थियो, ज्ञानेन्द्रलाई नेपालको राजाको पदको हक लाग्यो र उनि राजाको गद्दिमा बसे । त्यसबेला ज्ञानेन्द्रप्रति देशका जनताको आक्रोस थियो, दाईलाई मारेर गद्दि आफ्नो हात पारेको आरोप लागेसँगै उनलाई सारा राष्ट्रले धिक्कारेको अवस्था थियो । त्यसै बेला राजाले देशमा संकटकालको घोषणा गरे । उनको त्यस घोषणापछि उनले चाहेको जस्तो माओवादीको ससस्त्र द्वन्द्व पनि रोकिन नसकिनुका साथै जनतामा आक्रोशपनि अझै बढ्दै गयो । त्यहि बेला दलहरुबिच सहमति पनि बन्न सकिरहेको थिएन । दलहरुको असहमतिको नितान्त फाइदा उठाएर राजाले संसद बिगठन गराएर आफ्नो हातमा सत्ता लिएर जनतालाई झन आक्रोशित बनाए । उनको यस कामको आलोचना गर्दै संसारभरी बाट आवाज उठ्यो । विकिपिडियाका अनुसार, "नेपाल अधिराज्यको संविधान २०४७ मा राजकीय सत्ता तथा राजाको अधिकारको विषयमा केहि व्यवस्थाहरु स्पष्ट नभएकाले राजाले यो कदम उठाउन सकेका थिए" । राजाले त्यसपछि बिभिन्न व्यक्तिहरुलाई लिएर प्रधानमन्त्री र मन्त्रीमण्डल फेर्दै गए । यस्तो कामको कारणले राजामाथि सिङ्गो देशको नै प्रहार भयो । उता भने राजाको यस्तो कदमको कारणले माओवादीलाई राजतन्त्र हटाउनको लागी जनताहरुलाई र अन्य दललाई पनि सहमत गराउन सजिलो भइरहेको थियो । राजा माथि यस्तो प्रहार भएछ कि राजाले राजतन्त्र नै खतरामा देखेर २०६१ माघ १९ गते तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवालाई पदबाट हटाएर आफ्नै अध्यक्षतामा नयाँ मन्त्रीमण्डल गठन गरेछन ।  त्यसपछि उनको यस्तो कदमको देश र विदेश सबैतिर बाट विरोध भएछ । दलहरु आक्रोसित जनता लिएर आन्दोलन मा उत्रिन बाध्य भएछन् । आन्दोलनमा माओवादीको पनि समर्थन त हुने नै भयो । उनको माग पनि यहि नै थियो । आन्दोलन चलिरहेकै बेला ससस्त्र द्वन्द्व गरिरहेको माओवादी र दलहरुबिच भारत को नयाँदिल्लीमा १२ बुँदे सहमति भएपछि माओवादीले हतियार बिसायो । त्यपछि सातै दल राजाको त्यस कठोर र अभद्र निर्णय बिरुद्दको आन्दोलनमा सडकमा उत्रीए ।  २०६२ चैत २४ देखि २०६३ वैशाख ११ सम्म चलेको १९ दिन लामो त्यस आन्दोलनले राजालाई घुँडा टेक्न बाध्य बनायो र अन्त्यमा राजाले आफ्नो हातमा लिएको मन्त्रीपरिषद्को अध्यक्षता त्यागेर आन्दोलनरत दलहरु मध्येबाट सहमतिमा सरकार बनाउन आह्वान गर्दै विगठित संसदको पुनर्स्थापना गरेपछि लोकतन्त्रको स्थापना भएको देखिन्छ ।

फोटो साभार: ujyaalonepal.com

बैसाख ८ गते राजा ज्ञानेन्द्रले मन्त्रीपरिषद्को अध्यक्षता त्याग्ने घोषणा गर्ने क्रममा उनले गरेको संबोधन भनेका थिए, ‘जनताको नासो जनतालाई नै फर्काएका छौँ । ’ जुनले उनको सोचाईभन्दा भिन्न रुप लिन पुग्यो, फलतः जनतालाई झनै आक्रोशित बनायो र आन्दोलन अझ चर्कियो । उनले पहिले आफुखुसी गरेको र पछि गएर जनताको ईच्छानुसार लिएको नासोझैँ गरी त्यसलाई प्रस्तुत गरेकोमा जनताको आक्रोश बढेको हो भन्ने स्पष्ट छ । राजाको यहि संबोधन प्रति असन्तुष्टि जाहेर गर्दै मेरी आमाले रचना गर्नुभएको कविताको एक अंश पनि यहाँ उद्रित गर्न चाहेँ, 

“त्यो नासो तिमीलाई राख्न भनेर दिएको कसले थियो, 
गर्छौ आफुखुसी र भन्छौ अहिले त्यो नासो फिर्ता भयो । 
जनताका हातबाट खोसेर लियौ, भन्छौ त नासो भनी, 
दिएका नि थिएनन् र सहमत छैनन् लिनलाई पनि ।”

बढ्दो आक्रोशलाई थाम्नका लागी राजाले फेरी राष्ट्रका नाममा संबोधन गर्दै विगठित संसदको पुनर्स्थापना गर्न दलहरुलाई आह्वान गरे ।





लोकतन्त्रको घोषणापछि नेपालमा विपी कोइरालाको पहिल्यैदेखिको संविधानसभाको माग पुनः हुन थाल्यो । संविधान सभाको चुनाव भयो, चुनावमा माओवादीले सामन्तबादको अन्त्य गर्ने र नेपालको रुप परिवर्तन गरी नेपाललाई "स्वीजरल्याण्ड”जस्तो बनाउने आश्वासन दिएर भोट माग्दै विजय हाँसिल गरेको थियो । त्यहि झुटो आश्वासनलाई आधार मानेर हामी भन्ने गर्छौँ, 'माओवादीले पनि केहि गरेन' । चुनावमा त्रासले र आशले जनताले विजयी बनाएपछि संविधान सभामा माओवादीको बाहुल्यता त बढि हुने नै भयो, त्यहि बाहुल्यताको फाइदा उठाउँदै राजतन्त्र हटाउने माओवादीको माग लोकतान्त्रिक दलको समर्थनका साथ उनिहरु आफैँले पुरा गरेर छाडे । राजाले जति नै आफ्नो गल्ति सुधार्दै जनताको नासो जनतालाईनै दिएको भनेपनि जनतामा राजाप्रतिको आक्रोश भने कम भएको थिएन । त्यसैले आन्दोलनपछि भएको संविधान सभाको चुनावबाट निर्वाचित संविधान सभाको पहिलो बैठकले  २०६५ जेठ १५ गते २३८ वर्ष देखिको लामो शाह वंशको अन्त्य गर्दै नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो ।
फोटोको स्रोतः twitter/peoplenpl



१०-१२ वर्षको आन्दोलनमा देशलाई ५० वर्ष पछाडि धकेलेको माओवादीले  देशलाई "स्वीजरल्यान्ड”जस्तो बनाउँछ भन्ने कुरामा विश्वास गर्ने हामी नेपाली कस्ता ? के पायौँ त हामीले यस्तो आशा गरेको पार्टिबाट ? मेरो मनमा पैदा भएको एक अन्तिम प्रश्नको उत्तर पनि मलाई मिल्यो - किन नेपालका जनतामा राजनीतिक चेतना नभएको ? यस प्रश्नको उत्तर हो, नेपालका जनतामा राजनीतिक चेतना नभएको कारण राजनीतिलाई भर्याङ बनाउँदै नेतृत्व गर्दै सरकारमा पुगेका नेताहरुबाट जनताको विश्वास मरेर हो । राजनीति बुझ्न नसकेको कारण भन्दापनि यसलाई राजनीति बुझ्न नचाहेको कारणले नेपाली जनतामा राजनीतिक चेतना नभएको हो भनेर भन्न मिल्छ । राजनीतिक चेतना राखेर पनि के गर्नु? के गरेको छ र नेपाली जनतालाई राजनीतिको खेलले? कहिल्यै सुख नपाएर सँधै दुखमा बाच्न परेको जनतालाई राष्ट्रको राजनीतिको पनि के महत्व हुन्छ र? जनतालाई मतलब हुन्छ त आफ्नो सुखसँग, जनतालाई मतलब हुन्छ राष्ट्रको विकाससँग । यी दुवै मध्ये कुनै पनि कुरा जनताले नपाएपछि किन चासो राखुन् त जनताले राजनीतिमा? जनतामा राजनीतिको चेतना बढाउनका लागी त झुटो आश्वासन छाडेर साँच्चिकै केहि गरेर देखाउन पर्ने र नदेखाएकै कारणले देशका जनताको आशा कहिल्यै नफर्कने गरी हराउन लागेको कुरा हाम्रा त्यति बुझेका भनौँदा नेताहरुले किन बुझ्दैनन् ? चुनावमा जनता समक्ष लिएर आउने घोषणापत्रमा उल्लेखभए अनुसार कुन चाँहि राजनीतिक दलले आफ्नो बाचा पुरा गर्न खोज्यो त ? यस्ता झुटा आश्वासनकै कारणले गर्दा नै त हो जनता राजनीतिप्रति चेतनसिल नभएजस्तो देखिएका । 

Comments

  1. wow Nigam, great.its interesting you have begun the story with question. though you seem to have got answers for all your questions there are many questions on the page of Nepali political history unanswered....question builds your knowledge so question yourself and have patience through good books. Im very happy you are making effort to crawl, to walk and to run and I have firm belief that one day you will fly. God bless you

    ReplyDelete
  2. Hey Nigam, What a quality writing! keep it up.

    ReplyDelete
  3. Great writing .loved it 🙂

    ReplyDelete

Post a Comment

Popular posts from this blog

पेशागत जीवनको यात्राः लक्ष्य अनेक टुङ्गो एक

"पल्पसा क्याफे"को टेबुलमा एकछिन रमाउँदा ……….. ।