पेशागत जीवनको यात्राः लक्ष्य अनेक टुङ्गो एक




निगम भट्टराई
स्थान त्यही हो, मन-मस्तिष्क उही हो बेग्लै छ त केवल रहर र समय । आजभन्दा १३ वर्ष अगाडि मलाई सोधिन्थ्यो, ‘बाबु, ठूलो भएर के बन्न मन छ?’ र म भन्ने गर्थेँ, ‘म त डाक्टर बन्ने हो’ । त्यसको ४-५ वर्षपछि कसैले के बन्ने भनेर सोध्थ्यो र मलाई पाइलट बन्नु छ भनेर भन्थेँ, ठूलो जहाज हाँक्नु छ र आकासमा उड्नु छ चरी झैँ खुला भएर । अझ त्यसको ४-५ वर्षपछि र आजसम्म पनि कसैले मेरो भविष्यको लक्ष्य सोध्दा म मलाई एक तीक्ष्ण कम्प्युटर इन्जिनियर बन्नु छ भनेर भन्ने गर्छु । अझ भनौँ, सफ्ट्वेयर इन्जिनियर बन्नु छ भन्ने गर्छु ।

जीवनमा अनेकौं लक्ष्यहरू बोकेँ र त्यसलाई पुरा गर्ने सोचले अगाडि बढ्दै जाँदा अझ आफूलाई आकर्षित गर्ने अर्को कुनै क्षेत्रमा जीवनलाई समर्पित गर्ने लक्ष्य बनाउँदै गएँ । यो क्रम दोहोरिँदै र तेहेरिँदै गयो, र अझै पनि दोहोरिने छैन भनेर म भन्न सक्दिनँ । मलाई तपाइँ आज मेरो जीवनको लक्ष्य सोध्नुहुन्छ भने मेरो लक्ष्य हो कम्प्युटर इन्जिनीयर बन्ने भनेर भन्ने छु । २-३ वर्षपछि सोध्दा मलाई मेरो सोच र चेतनाले डोर्याएर कहीँ कतै अनिश्चित गन्तव्यको पथमा हिँडाइरहेको हुनसक्छ, त्यो भन्न सकिँदैन ।


यसको मतलब मेरो त्यस क्षेत्र प्रतिको लगाव घटेको छ भन्ने कदापि होइन । यसलाई सकारात्मक रूपमा लिने हो भने, आफूलाई अझ बढी रूचि भएको अन्य विषयतिर तल्लीन भएको र पहिलेकोभन्दा आफू लागेको नयाँ क्षेत्रमा लागेर आफूलाई सन्तुष्ट बनाउन तथा केही परिवर्तनको खोजीमा हिँड्ने प्रयास गरेको भनेर सोच्न सकिन्छ । नयाँ-नयाँ परीक्षणलाई अपनाउनु भनेको पनि सफलताको बाटोमा लाग्नु हो । ती परीक्षणमा सफलता हात नपरे तापनि हात हालेर केही सिक्नु नै भविष्यको लागि आफ्नो बाटो अझ फराकिलो पार्नु हो भन्ने मलाई लाग्छ ।



मानिसको मनलाई अनेक कुराले आकर्षित गर्छ । त्यही आकर्षणको स्रोतलाई नै प्रेरणाको रूपमा लिने हो भने कोही पनि व्यक्तिलाई त्यसमा दक्षता हासिल गर्न अप्ठ्यारो हुँदैन । यसरी अनेक कामप्रतिको आकर्षण मलाई पनि कैयौँपटक भयो, सानो छँदा बारम्बार अस्पताल धाउनु पर्ने मेरो तात्कालीन कमजोर स्वास्थ्य स्थितिका कारण पनि हुनसक्छ, मेरो लक्ष्य भनेको डाक्टर बन्ने थियो वा पेशागत दृष्टिले सम्मानित भनेर मानिएका कारण मेरो अन्तर्मनले बिना योजना फालिएका जवाफहरू पनि हुनसक्छन् । कुनै एक पेसामा लागेको मानिस देख्दा ऊजस्तो हुन मन लाग्छ, उसले गरेको काम आफ्नो चेतना र ज्ञानलाई मिलाएर अझ राम्ररी गर्न सकिन्छ भन्ने लाग्छ ।

शोख लाग्ने काम गर्न सबैलाई छुट छ अथवा भनौं ऊ आफ्नो पेशा वा व्यवशायको क्षेत्र छनौट गर्न स्वतन्त्र छ, एक मानिसको अनेकौँ शोख हुन्छन्, तर लक्ष्य अनुरूप एक काम हुन पर्छ जुन कुनै मानिसले उत्कृष्टता पूर्वक गर्नसक्छ र आफ्नो कामबाट समाजमा र आफूमा पनि परिवर्तन लिएर आउने प्रयत्न गर्नसक्छ । के मनमा लागेको सबै काम गर्न सकिन्छ त? अवश्य सकिन्छ र त्यसले नै भविष्यलाई अझ चम्किलो बनाउन मद्दत गर्छ, तर जुनसुकै काम गर्दा पनि आफ्नो मन-मष्तिस्क सबैलाई सो काममा डुबाउन सक्नु नै उत्कृष्ट कार्यकारी बन्नु हो । कुनै पनि काम गर्दा त्यसमा पूर्णरूपले समर्पित नभए सम्म कामको प्रभाव पर्दैन र सो काम उपलब्धि मुलक हुन सक्दैन ।



कुनै किताब वा लेखनी पढ्दा लाग्छ, यसको कथावस्तुलाई आधार मानेर कुनै एक राम्रोस्तरको टेलिभिजन शृङ्खला (TV Serial) बनाउन पाए कस्तो राम्रो हुने थियो अथवा एक लेखकको लेख पढ्दा लाग्छ, यस्तो कला मभित्र पनि भइदिए कति राम्रो हुने थियो । मैले पनि यसरी नै शब्दहरूमा डुब्न सकेर त्यसमा आफ्नै लेखन कलालाई मिलाउन पाए कति मेरा धेरै सोचहरूलाई धेरै जनाको माझ पुर्याउन सक्ने थिएँ होला । एक क्रिकेट खेलाडी देख्दा म पनि प्रयास गरे त यस्तै खेलाडी बन्न सफल हुने थिएँ होला भन्ने लाग्छ । यी सबै कसैको काम वा पेशा वा व्यवशायिक धर्मप्रतिका आकर्षणहरू हुन् । यस्ता आकर्षणहरूलाई आकर्षणमा नै सीमित नराखेर यदि हामी कुनै काममा आफूलाई दक्ष बनाउने इच्छा राख्यौँ भने त्यो नै आफ्नो शोख पूरा गर्नु हो र त्यो नै आफ्नो दक्षताको क्षेत्रलाई रोज्ने बाटोमा लाग्नु हो । जसले आफूभित्रको क्षमतालाई पूर्णरूपले उपयोग गर्न सक्दैन र असफल हुने डरले कुनै पनि कार्य गर्न अगाडि बढ्दैन, ऊ सँधैभरि आफ्नो विशेषताको खोजीमा दौडिरहन्छ । त्यसैले आफ्नो विशेषतालाई चिन्नको लागि पनि आफूलाई गर्न मन भएको कार्य रे हेर्न जरुरी हुन्छ ।

  • काठमाण्डौँ, २३ ज्येष्ठ २०७७ (५ जुन २०२०) राति :०० बजे ।

Comments

Popular posts from this blog

मेरो बुझाई

"पल्पसा क्याफे"को टेबुलमा एकछिन रमाउँदा ……….. ।