हाम्रा बा–आमाको पुस्ताका लागि एक सन्देश
नयाँलाई भोट नदिने मानसिकता आज हाम्रो राजनीतिक संस्कारको एउटा गहिरो र जटिल पाटो बनेको छ। यो मानसिकता आकस्मिक रूपमा बनेको होइन। यसका पछाडि वर्षौँको अनुभव, निराशा, आशा–अपेक्षा, र इतिहाससँग जोडिएको भावनात्मक सम्बन्ध छ। धेरै परिवर्तन देखेको पुस्ताले सावधानी अपनाउनु स्वाभाविक पनि हो। तर कहिलेकाहीँ धेरै सावधानी अपनाउँदा, स्थिर रहन खोज्दा हामी बदल्न नसक्ने, अड्किएको अवस्था मा पुग्छौं। नयाँ अनुहार वा नयाँ विचारप्रति अविश्वास हुनु अस्वाभाविक होइन। तर नयाँ भएकै कारण अस्वीकार गरिनु चाहिँ गम्भीर प्रश्नको विषय हो। किनभने हरेक पुरानो कुनै दिन नयाँ नै थियो। इतिहास पनि एक समय प्रयोगकै चरणबाट गुज्रिएको थियो। त्यसैले “नयाँ” भन्ने शब्द आफैँमा दोष होइन; मूल्याङ्कन विचार, नियत र क्षमताको आधारमा हुनुपर्छ। यहाँ एउटा आत्ममूल्याङ्कन आवश्यक छ— हामीले अहिलेसम्म जति पटक भोट दियौँ, त्यो किन दियौँ? कुन आधारमा दियौँ? तत्कालीन नेतृत्व र आचरण हेरेर कि ऐतिहासिक योगदान, पार्टीको पहिचान र व्यक्तिगत लाभको अपेक्षाले? धेरैजसो अवस्थामा वर्तमानभन्दा अतीत नै हाम्रो निर्णयको मुख्य आधार बनेको यथार्थ स्वीकार्नैपर्छ। ...