हाम्रा बा–आमाको पुस्ताका लागि एक सन्देश


 

नयाँलाई भोट नदिने मानसिकता आज हाम्रो राजनीतिक संस्कारको एउटा गहिरो र जटिल पाटो बनेको छ। यो मानसिकता आकस्मिक रूपमा बनेको होइन। यसका पछाडि वर्षौँको अनुभव, निराशा, आशा–अपेक्षा, र इतिहाससँग जोडिएको भावनात्मक सम्बन्ध छ। धेरै परिवर्तन देखेको पुस्ताले सावधानी अपनाउनु स्वाभाविक पनि हो। तर कहिलेकाहीँ धेरै सावधानी अपनाउँदा, स्थिर रहन खोज्दा हामी बदल्न नसक्ने, अड्किएको अवस्था मा पुग्छौं।

नयाँ अनुहार वा नयाँ विचारप्रति अविश्वास हुनु अस्वाभाविक होइन। तर नयाँ भएकै कारण अस्वीकार गरिनु चाहिँ गम्भीर प्रश्नको विषय हो। किनभने हरेक पुरानो कुनै दिन नयाँ नै थियो। इतिहास पनि एक समय प्रयोगकै चरणबाट गुज्रिएको थियो। त्यसैले “नयाँ” भन्ने शब्द आफैँमा दोष होइन; मूल्याङ्कन विचार, नियत र क्षमताको आधारमा हुनुपर्छ।

यहाँ एउटा आत्ममूल्याङ्कन आवश्यक छ— हामीले अहिलेसम्म जति पटक भोट दियौँ, त्यो किन दियौँ? कुन आधारमा दियौँ? तत्कालीन नेतृत्व र आचरण हेरेर कि ऐतिहासिक योगदान, पार्टीको पहिचान र व्यक्तिगत लाभको अपेक्षाले? धेरैजसो अवस्थामा वर्तमानभन्दा अतीत नै हाम्रो निर्णयको मुख्य आधार बनेको यथार्थ स्वीकार्नैपर्छ।

परिवर्तनका धेरै चरण देखेको पुस्ताले केही दल र धाराप्रति निष्ठा राख्नु स्वाभाविक हो। त्यसप्रति गर्व लाग्नु पनि अस्वाभाविक होइन। तर चुनावको बेला इतिहास सम्झँदा हामीले प्रायः निकट इतिहासलाई भने बेवास्ता गर्छौँ— कुशासन, अवसरको दुरुपयोग र असफलताका अनुभवलाई। ७ साल, ४६ साल, ६२/६३ सालका ऐतिहासिक मोडहरू सम्झँदा, त्यसपछिका वर्षहरूमा भएका निर्णय र चुकहरूलाई पनि उत्तिकै गम्भीरतापूर्वक हेर्न आवश्यक छ। तथ्य निकालेर हेर्नुभयो भने थाहा हुन्छ— त्यस समयपछि देशलाई समृद्ध बनाउने कति अवसरहरू व्यक्तिगत स्वार्थका कारण बेवास्ता गरिए।

नीति, नियम, कानुन, योजना, समस्या पहिचान र समाधानजस्ता कुरामा रातदिन नभनी खटिनुपर्ने दायित्व बोकेका हाम्रा, र हामीभन्दा निम्न वर्गमा रहेका जनताका प्रतिनिधिहरूमा दायित्वबोध नहुँदा देशको यो हविगत भएको कुरा छर्लङ्ग छ। निम्न वर्गका नागरिकहरू मात्र भन्नुभन्दा— परिवार पाल्न नसकेर, खर्च धान्न नसकेर, ज्यानको बाजी राखी रूस–युक्रेन युद्धमा लडाकु बन्नसमेत गएकाहरूको कुरा गर्दा अझ प्रस्ट हुन्छ। खाडी पुगेकाहरूका कथा र व्यथा त दिनदिनै सुनिरहेकै छौँ।

यी कथाहरू सुन्दा हामीलाई दुःख त लाग्छ, तर आफैँले भोग्न नपरेका कारण त्यो दुःखलाई हामी कहिल्यै सही रूपमा बोध गर्न सक्दैनौँ, र सम्भवतः सक्ने पनि छैनौँ। हो, यस्ता कुराहरू बुझौँ। यिनलाई निकै संवेदनशील रूपमा हेरौँ। आफैँलाई प्रश्न गरौँ— किन यो अवस्थामा पुग्न बाध्य भए त हाम्रा दिदी–बहिनी, दाजु–भाइहरू? बाध्य भए कि बाध्य बनाइए? यो पनि सोधौँ।

बाध्य बनाउनुको अर्थ कसैले गएर उनीहरूको सम्पत्ति खोस्नु र सडकमा ल्याउनु मात्र होइन। उनीहरूको साँच्चिकै गुणस्तरीय शिक्षा पाउने अधिकार खोस्नु हो, देशमै बसेर सुखसँग काम गर्न र सुखसँग बाँच्न पाउने अधिकार खोस्नु हो। यी सबै कुरा अन्ततः माटो सुहाउने, समाजको बोली बोल्ने नीति–नियम बनाउने अठोट र त्यसको कार्यान्वयन गर्ने हिम्मत भएका समाजका सच्चा प्रतिनिधिहरूमै आएर जोडिन्छन्।

हामीले हरेक चुनावमा भोट दिनुअघि यस्ता कुराहरू सोच्छौँ कि सोच्दैनौँ? बुझ्छौँ कि बुझ्दैनौँ? फेरि पनि भन्छु, सोचौँ! साँच्चै बुझौँ।

यो लेख कुनै आरोप होइन, आग्रह हो— अनुभवले भरिएको पुस्ताले अब नयाँ सम्भावनालाई पनि मूल्याङ्कन गर्ने साहस देखाओस् भन्ने आग्रह। जीवनका धेरै मोड देख्नुभएको छ, समाजका असमानता अनुभूत गर्नुभएको छ। मूल्याङ्कन गर्ने क्षमता तपाईँहरूसँग छ। अब निर्णय— र त्यसको जिम्मेवारी— तपाईँहरुकै हातमा छ।

Comments

Popular posts from this blog

एकता कि परीक्षा? बालेन, रवि र कुलमानको सम्भावना र चुनौती

असहमति किन हिंसामा बदलिन्छ?

मेरो बुझाई