एकता कि परीक्षा? बालेन, रवि र कुलमानको सम्भावना र चुनौती





फरक राजनीति गर्ने दायित्व

राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव प्रचारप्रसार फरक प्रकारको होस्। पुराना दलका बेथिति औंल्याउने र गाली गर्ने काममै सीमित भएर चुनावी प्रचार गर्ने प्रयास नगरियोस्। यो नेपाली राजनीतिको पुरानो रोग हो र नेपाली जनता पनि यसैको अभ्यस्त भइसकेका छन्। अरूलाई गाली गर्ने र त्यस्तो गाली सुन्दा उग्र रूपमा उकासिने प्रवृत्ति नयाँ होइन। यस्तो शैली अपनाउँदा लोकप्रिय त अवश्य भइन्छ, यसमा शंका छैन। तर आफू कस्तो उदाहरणका रूपमा प्रस्तुत हुँदैछु भन्ने विषयमा पार्टीभित्र गहिरो छलफल र सहमति आवश्यक छ। हामी आफैं यस्तै उग्र राजनीतिक प्रवृत्तिका भुक्तभोगी हौँ, र त्यही कारण वैकल्पिक शक्तिको आवश्यकता महसुस गरिएको हो।


समस्या औंल्याउने होइन, समाधान देखाउने राजनीति

पुराना दलका कमजोरीहरू स्थापित भइसकेका विषय हुन्। ती कुरा दोहोर्‍याएर समय खेर फाल्नु आवश्यक छैन। बरु प्रत्येक स्थानमा प्रचारका लागि जाँदा त्यहाँका वास्तविक समस्याहरू पहिचान गरी नीतिगत सुधारबाट आउने समाधान र सम्भावनाबारे जनतालाई शिक्षित गराउनु उपयुक्त हुन्छ। झट्ट सुन्दा आकर्षक लाग्ने तर भित्री रूपमा खोक्रा विकासका माइक्रो मोडल देखेर थाकिसकेको समाजमा यसले केही नयाँपन दिन सक्छ। योजनाबद्ध रूपमा अघि बढ्न सके यसले अझ प्रभावकारी रूप लिन सक्छ।


बालेनको व्यक्तित्व र सामूहिक राजनीति

बालेनको स्वभाव एक्लै रमाउने खालको छ। तर पार्टी राजनीतिमा प्रवेश गरेपछि उनी एकल पात्रका रूपमा प्रस्तुत हुनु हुँदैन। सार्वजनिक रूपमा देखिने उनको स्वभाव पार्टीभित्र पनि जस्ताको तस्तै कायम रहेमा समस्याहरू देखिन सक्छन्। त्यसैले एकतालाई मूर्त रूप दिन र पार्टीभित्र आफ्नो स्थान सुदृढ बनाउन उनले आफ्ना केही मनोवृत्तिहरू परिवर्तन गर्नुपर्ने हुन्छ। यो सजिलो काम भने होइन।


शक्ति संघर्षको सम्भावित तनाव

एकतापछि स्वाभाविक रूपमा उठ्ने प्रश्न शक्ति संघर्षको हो। आफ्नो अस्तित्व मेटाउन खोजिएको भन्दै गुनासो गर्दै आएका कुलमान आफ्नो नवगठित पार्टीको अस्तित्व नाम, झण्डा र चुनाव चिह्नभन्दा बाहिर गएर सम्पूर्ण रूपमा ‘उज्यालो नेपाल अभियान’ले नै बोक्ने धारणामा कति समयसम्म अडिग रहन सक्लान्? बाहिरबाट हेर्दा सन्काहा स्वभावका देखिने बालेन पार्टीभित्र आफू कहिल्यै होच्याइएको महसुस भए कुन रूपमा प्रस्तुत होलान्? त्यसले निम्त्याउन सक्ने आँधी कति तीव्र हुन सक्छ? रविले आफ्ना मुद्दाबाट सफाइ पाएपछि समयसँगै उनको महत्वाकांक्षा कहाँसम्म पुग्ला? यी सबै सम्भावित समस्याहरूलाई पन्छ्याउने सामर्थ्य यी तीन नेतामा छ भन्ने प्रमाणित भएमा मात्र उनीहरू साँच्चिकै वैकल्पिक शक्तिका रूपमा स्थापित हुन सक्छन्।


एकता कि चुनावी तालमेल

अहिले आवश्यकताका कारण बनेको यो एकतालाई अर्को ढंगले अगाडि बढाउन सकिन्थ्यो कि भन्ने प्रश्न पनि उठ्छ। भविष्यमा वैचारिक मतभेदका कारण टुक्रिने सम्भावना कति छ? नयाँ रूपमा जोडिएका शक्तिहरूले पार्टीको राजनीतिक विचारलाई अपनत्व दिन नसकेमा समस्या उत्पन्न हुन सक्छ। त्यसैले पार्टी एकताको सट्टा चुनावी तालमेल नै उपयुक्त विकल्प थियो कि भन्ने प्रश्न उठ्नु स्वाभाविक हो। पार्टी एकता वा पार्टी प्रवेशको नाम दिइए पनि यसमा चुनावी तालमेलको गन्ध भने आइरहेकै छ।


महाधिवेशन र आन्तरिक स्थायित्व

निर्वाचनलगत्तै महाधिवेशन गर्दा यी समस्याहरू समाधान होलान् त? महाधिवेशन भएमा त्यसका फाइदा र बेफाइदा के हुन सक्छन्? पार्टीको व्यापक पुनर्व्यवस्थामार्फत सबै पक्षलाई न्याय हुने गरी निष्पक्ष वातावरण निर्माण गर्न सकिने सम्भावना छ। तर निर्वाचनलगत्तै नयाँ रूपमा जोडिएका नेताहरू पार्टीको संस्कृतिमा पूर्ण रूपमा घुलमिल नभइसकेको अवस्थामा महाधिवेशन गर्दा गुट उपगुट बन्ने र आन्तरिक विभाजन बढ्ने खतरा पनि उत्तिकै रहन्छ।


ऐतिहासिक बन्ने अवसर

यी सबै चुनौतीबीच यस एकतालाई सकारात्मक दृष्टिले हेर्ने हो भने यसलाई ऐतिहासिक एकताका रूपमा बुझ्न सकिन्छ। ऐतिहासिक भनिएको एकतालाई साँच्चिकै ऐतिहासिक बनाउने जिम्मेवारी एकीकृत शक्तिहरूकै काँधमा छ। सबै किसिमका मतभेद र समस्यालाई संवाद र समझदारीमार्फत समाधान गर्दै एकतालाई सार्थक बनाउन सकेमा देशले स्थिरता र बलियो आधारसहितको परिवर्तन देख्न सक्छ।

Comments

Popular posts from this blog

असहमति किन हिंसामा बदलिन्छ?

मेरो बुझाई