असहमति किन हिंसामा बदलिन्छ?
हालैका आन्दोलनहरू पछि मैले देखेको एउटा निकै डरलाग्दो सत्य के हो भने, हाम्रो समाजभित्र हिंसाको मानसिकता गहिरिँदै गएको छ। नेपाली समाजको मूल मन्त्र हुनुपर्ने सहानुभूति, सदाशयता र व्यावहारिकता जस्ता सभ्य समाजका आधारहरू हामीमा अपेक्षाकृत कम देखिन्छन्।
अतिवाद र हिंसाको मानसिकता
हाम्रो समाजमा एउटा गम्भीर प्रश्न उठ्छ, किन असहमतिको पहिलो प्रतिक्रिया हिँसा बन्छ? कसैको विचार मन परेन भने उसलाई मार्ने, उसका घर-परिवार जलाउने, समाजबाट हटाउने सोच किन सबैभन्दा छिटो जन्मिन्छ? संवाद, सहअस्तित्व र सहनशीलता किन दोस्रो वा तेस्रो विकल्प जस्तो देखिन्छ?
शान्तिलाई विकल्पको रुपमा किन हेरिदैँन?
हाम्रो देश, शान्तिको प्रतिक गौतम बुद्ध जन्माउने देश भएकै कारण अन्तराष्ट्रिय समुदायमा पनि सँधै शान्तिको पक्षमा उभिएको देखिन्छ। तर यस्तो देशका नागरिकहरुका लागि हिंसाको विकल्पमा शान्ति किन देखिँदैन? शान्ति कमजोरी होइन, तर हाम्रो समाजले शान्तिलाई व्यवहारिक समाधानका रूपमा आत्मसात् गर्न हिचकिचायो। यस्तो लाग्छ कि हामी शान्ति प्राप्तिको नाममा झनै अशान्ति फैलाउने दौडमा छौँ।
कानुनको शासन कि भीडको शासन?
फलस्वरूप, अराजकता नै परिवर्तनको एकमात्र बाटो हो भन्ने भ्रम फैलिँदै गएको देखिन्छ। देश कानुनले चल्नुपर्ने हो, भावनाले होइन। तर व्तवहारमा हामी भीडको निर्णयलाई न्याय ठान्छौँ। दोषी ठहर गर्नु अदालतको काम हो, सजाय तोक्नु राज्यको जिम्मेवारी हो। तर हामी नागरिक स्वयं न्यायाधीश बन्न खोज्छौँ। यहीँबाट कानुनी राज्य कमजोर हुँदै जान्छ।
समानताको सिद्धान्त र व्यवारको दूरी
धर्म, जात, समुदाय, वर्ग भन्दा माथि नागरिकता हुनुपर्ने हो। नेपाल सबैको साझा फूलबारी हो भने किन केही फूललाई मिच्न मिल्छ भन्ने सोच पलायो? समानता संविधानमा लेखियो, तर समाजको चेतनामा रोपिन सकेन। जुनसुकै जात, धर्म, समुदाय, धनि, गरिब भएपनि समान हुनपर्ने समाजमा यति धेरै असमानताको मानसिकता किन हावी छ?
सहानुभूतिको अभाव
हाम्रो देशले आफ्ना नागरिकलाई मानिसको पीडा महसुस गर्न सिकाउन सकेन। अरूको दुःखलाई आफ्नै दुःख ठान्ने संस्कार न परिवारले बलियो बनायो, न राज्यले संस्थागत गर्यो। सहानुभूति बिना समाज केवल भीड बन्छ जुन कुनैबेला पनि उफ्रिन र सोचबिचार बिना नै अरूलाई पछार्न तयार हुन्छ।
शिक्षाको सीमित परिभाषा
हामीले शिक्षा भन्नासाथ विद्यालय र अंक मात्रै बुझ्यौँ। नैतिक शिक्षा, व्यवहारिक शिक्षा, सामाजिक जिम्मेवारी, सहनशीलता र संवाद जस्ता महत्वपूर्ण शैक्षिक पाटाहरूलाई हाम्रो शिक्षा प्रणालीले उपेक्षा गर्यो। के शैक्षिक प्रमाणपत्र मात्रै शिक्षा हो? यदि हो भने, किन शिक्षित मानिस पनि अमानवीय बन्छ?
नागरिक होइन, केवल कामदार उत्पादन
राज्यले विद्यालय त खोल्यो, तर नागरिक निर्माण गर्न सकेन। हामीलाई पेशा सिकाइयो, तर मानवीयता सिकाइएन। हामीलाई प्रतिस्पर्धा सिकाइयो, तर सहअस्तित्व सिकाइएन।
समस्या कहाँ छ?
समस्या एक व्यक्ति, एक समुदाय वा विद्यालयमा होइन, सम्पूर्ण प्रणालीमा छ। कमजोर नागरिक चेतना, अधूरो शिक्षा, भावनात्मक राजनीति, सहनशीलताको अभाव मिलेर अतिवादी मानसिकता जन्मिने डर भएको हो। जबसम्म हामी मानिस बन्ने शिक्षालाई केन्द्रमा राख्दैनौँ, समाजले हिंसाको विकल्पमा कहिल्यै शान्तिलाई देखिँदैन।
Comments
Post a Comment